काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था हट्दा देशको जीवनमा ठूलो समस्या आउने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा नभएको बताए । राष्ट्रको जीवन, लोकतान्त्रिक व्यवस्था र संविधान अन्योन्याश्रित रहेको बताए । गत भदौ २३ र २४ को जेन–जी प्रदर्शनपछि विस्तारै स्थिति सुदृढिकरण भइरहेको बताएका छन् । आफू दण्डहिनताको पक्षमा नरहेको बताउँदै गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउने बताए । आफू कुनै सत्ताको मोहले सरकारमा नगएको जिकिर गर्दै आवश्यक परे मर्नुपर्ने पहिलो व्यक्ति हुनका लागि जोखिम लिएर सरकारमा आएको जिकिर गरे ।
उनले भने, ‘स्थिति सुदृढिकरण हुँदै गएको छ । मनोबल सुदृढ हुँदै गएको छ । २३ र २४ गतेको घटना भन्दा अघिको मनोबलसँग तुलना गरेर त हुँदैन, त्यहाँबाट यहाँसम्म आएको स्थितिमा पनि ठिकै भयो होला भन्नुस् न । बंगलादेशको हालत के हुँदैछ ? त्यस्तो त हामीले हुन दिएनौँ नि । साँच्चिकै प्रतिशोध लिएर हिरोजम देखाएको भए परिस्थिति अर्कौ हुन्थ्यो । यो सबै कुरा दीर्घकालिन शान्तिको मार्गमा जानुपर्छ । यो राष्ट्र जोगाउनुपर्छ । त्यो बेला राष्ट्रको जीवन नै जोखिममा थियो । राष्ट्रिय सुरक्षा संकट आइसकेको थियो, औपचारिक रुपमा घोषणा नगरेको मात्रै हो । एकदिनमात्रै अघि बढेको भए धेरै कुरा अर्कै हुन्थ्यो । एक्लै परेको बेलामा मनोबल बढाइदिन आउनुपर्छ । राम्रो काम गर्दा साथ दिनुपर्छ । म नागरिक भएर पेशामै फर्किन्छु । म दण्डहिनताको पक्षमा छैन । गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउँछन् । संविधानको व्यवस्थालाई पनि बहाली गर्नको लागि अहिले चुनाव अपरिहार्य हो । यो व्यवस्था, संविधान जाँदा देशको भविष्यमा ठूलो धक्का पर्दछ । यो कुरा ख्याल गरौँ । व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा होइन । राष्ट्रको जीवन र यो लोकतान्त्रिक व्यवस्था, यो संविधान अन्योन्याश्रित छ ।’
मन्त्री अर्यालले देश नै कालोसूचिमा रहने गरी कुनै अराजकता हुन नदिने बताएका छन् ।

