काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै गएपछि पार्टी विभाजनको आशंका सार्वजनिक रूपमै उठेको छ । सभापति शेरबहादुर देउवाले आफैं पार्टी फुट्न सक्ने अवस्था आएको स्वीकार गरेका छन् ।
पार्टीभित्र देखिएको समस्यालाई समाधानका लागि सभापतिलाई भेट्न पुगेका २५ जना केन्द्रीय सदस्यहरूसँगको छलफलमा देउवाले आफू पार्टी विभाजन नहोस् भन्ने पक्षमा रहेको बताएका हुन् । भेट्न पुगेका केन्द्रीय सदस्यहरू निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
उनीहरूले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि अलग छलफल गर्ने तयारी गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले हिजो नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको मिति घोषणा गरेपछि पार्टीभित्र असन्तोष चुलिएको हो ।
पछिल्ला घटनाक्रमले कांग्रेसभित्रको विवाद थप गहिरिँदै गएपछि नेतृत्व दबाबमा परेको छ । बढ्दो असन्तोष र महाधिवेशन विवादबारे निर्णायक छलफलका लागि शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

