ओलीलाई बयानका लागि बोलाउने आयोगको अन्तिम तयारी, आजै पत्र काटिने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यससँग सम्बन्धित घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। आयोगले आज शुक्रबार नै ओलीलाई औपचारिक पत्र पठाउने सम्भावना रहेको जनाएको छ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग सोमबार र बुधबार गरी दुई दिन बयान लिइसकेको छ। लेखकको बयान सकिएपछि उनीमाथि लगाइएको स्थानहद समेत हटाइएको आयोग स्रोतले जनाएको छ। तर, ओलीले भने सुरुदेखि नै आयोगमा बयान नदिने अभिव्यक्ति दिँदै आएका छन्।

ओलीलाई पत्र पठाउनुअघि आयोगका पदाधिकारीहरूले बिहीबार वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी छानबिनको प्रगति र वस्तुस्थितिबारे जानकारी गराएका थिए। आयोगका अनुसार जेनजी आन्दोलनसँग जोडिएका अधिकांश उच्चपदस्थ अधिकारीहरूको बयान लिने काम सम्पन्न भइसकेको छ।

अब ओलीको बयानपछि प्रतिवेदन लेखन प्रक्रिया सुरु गर्ने तयारी आयोगको छ। आयोगले आगामी माघ ९ गतेभित्र सरकारलाई अन्तिम छानबिन प्रतिवेदन बुझाउने लक्ष्य राखेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसक्रममा राज्य पक्षबाट भएको दमनको आरोपले नेपाली राजनीतिमा ठूलो चर्चा र तरंग ल्याएपछि उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको हो।

सम्बन्धित समाचार

ताजा समाचार