राष्ट्रिय सभा निर्वाचनः १३ जनाको मताधिकार कटौती

काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनमा १३ जना जनप्रतिनिधिले मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले प्रारम्भिक मतदाता नामावली स्वीकृत गर्दै पाँच जना प्रदेशसभा सदस्य र आठ जना स्थानीय तहका पदाधिकारीको नाम हटाएको हो।

निर्वाचन आयोगका अनुसार पदमुक्त, निधन भएका तथा निलम्बनमा परेका व्यक्तिहरूलाई मतदाता नामावलीमा समावेश गरिएको छैन। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक मतदाता नामावली औपचारिक रूपमा स्वीकृत भइसकेको जानकारी दिएका छन्।

स्वीकृत विवरणअनुसार प्रदेशसभा सदस्यतर्फ अदालतको आदेशबाट पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी पाँच जनाको नाम हटाइएको छ। त्यस्तै, स्थानीय तहका पदाधिकारीमध्ये एक जनाको निधन भइसकेको छ भने सात जना निलम्बनमा रहेकाले उनीहरू मतदान प्रक्रियाबाट बाहिरिएका छन्।

कानुनअनुसार राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुख मतदाता हुने व्यवस्था छ। आयोगको तथ्यांकअनुसार आगामी माघ ११ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य ५४५ जना र स्थानीय तहका पदाधिकारी १,४९८ जना गरी कुल २,०४३ जनाले मतदान गर्नेछन्।

राष्ट्रिय सभा निर्वाचनको औपचारिक प्रक्रिया पुस १९ गतेदेखि सुरु हुँदैछ। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। यस निर्वाचनमार्फत १८ जना राष्ट्रिय सभा सदस्य चयन गरिनेछन्, जसको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ।

सम्बन्धित समाचार

ताजा समाचार