काठमाडौं । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् अन्ततः पूर्ण बनेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दै ६ नयाँ मन्त्री समेटेपछि प्रदेश सरकार १२ सदस्यीय बनेको हो ।
सरकार गठन भएको करिब एक महिनापछि गरिएको यो विस्तारसँगै मधेश प्रदेशको प्रशासनिक संरचना पूर्ण स्वरूपमा आएको छ । बुधबार आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारअनुसार मनिष सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन् । यस्तै, शंकरप्रसाद चौधरी वन तथा वातावरण मन्त्री बनेका छन् ।
श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेश प्रदेश सरकारले नीतिगत निर्णय र विकास योजनालाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

