काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै बिहीबार लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ। विनोद भण्डारीको धमाकेदार ब्याटिङ यो जितको केन्द्रविन्दु बन्यो।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि लुम्बिनीले राखेको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८।२ ओभरमै सहज रूपमा पार गर्यो।
यससँगै सुदूरपश्चिमले लगातार चार खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थान मजबुत बनाएको छ। अब बाँकी रहेको तीनमध्ये एक खेल जिते मात्रै पनि उनीहरू प्लेअफमा प्रवेश गर्नेछन्।
लुम्बिनी भने सुरुआती खेलमा जित हात पारे पनि त्यसपछि लगातार तीन खेल हार्दै संकटमा परेको छ। ४ खेलबाट २ अंकसहित प्लेअफको सम्भावना निकै धमिलो बनेको छ।
सुदूरपश्चिमका लागि विकेटकिपर–ब्याटर विनोद भण्डारीले अविजित ६९ रनको चम्किलो इनिङ खेले। ४९ बल सामना गर्दै उनले ५ चौका र ४ छक्का प्रहार गरे। यो उनको चालु सिजनको पहिलो अर्धशतक हो।
त्यस्तै, आरिफ शेखले ३७ बलमा ३९ रन जोडेर सहज रन–चेसमा महत्वपूर्ण साथ दिए। क्रिकेट लिनले १९ रन थपे भने जोश ब्राउन ९ रनमा आउट भए।
लुम्बिनीका तर्फबाट रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले एक–एक विकेट लिन सफल भए, तर टोलीलाई जित दिलाउन पर्याप्त बनेन।

