काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका मेयर हर्क साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् ।आईतवार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताएका हुन् ।
श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनको भनाई छ । उनले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली जनता बेरोजगार हुनुपरेको बताए । उनले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गरेका छन् । देश विदेशी ऋणले मात्रै नचल्ने बताउँदै उनले देश अब नेपाली आँफैले बनाउनुपर्नेमा जोड दिएका छन् । उनले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताए ।
उनले भने, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रपन्तरणका लागि, आर्थिक रुपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसका बसेर भाषणमा सिमित हुँदैनौँ । हामी चाँही पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । हामी सबै बेरोजगार छौँ प्रायः । रोजगारीको सिर्जना गफले हुँदैन । विदेशी ऋणले नी चल्दैन यो देश । त्यसले गर्दाखेरि यो देश अब हामी आँफैले बनाउनुपर्छ भन्ने हाम्रो मौलिक शैली छ । ती शैलीलाई हामीले विर्सियौँ । त्यो मौलिक शैलीहरुलाई पनि हामीले फेरि उजागर गर्छौ ।’
उनले आफूहरुले दलको झण्डा नराख्ने पनि स्पष्ट पारेका छन् । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाई छ ।

