निर्वाचनका लागि आवश्यक बाहेकका अध्यादेश राष्ट्रपतिले रोक्ने

काठमाडौं । निर्वाचनका लागि आवश्यक पर्नेबाहेकका अन्य कुनै प्रकारका अध्यादेश आए राष्ट्रपति रामचन्द्र पौडेलले रोक्ने धारणा राखेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा नागरिक समाजका अगुवाहरुसँगको कुराकानीमा उनले सबै पक्ष अब निर्वाचनमा होमिनुपर्ने बताउँदै सो धारणा राखेका हुन् ।

भदौ २३ र २४ गतेको भएको जेन–जी पुस्ताको आन्दोलनपश्चात सम्हालिएर अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले अब निर्वाचन सबैको प्राथमिकताको विषय बन्नुपर्ने बताए । सोही क्रममा उनले निर्वाचनका लागि आवश्यक पर्नेबाहेकका अन्य कुनै प्रकारका अध्यादेश आए आफू अस्वीकार गर्ने बताएका हुन् ।

प्रधानमन्त्री नियुक्तिअघि प्रतिनिधिसभा विघटनको माग हुँदा शहीद हुन तयार भएका राष्ट्रपति संविधानभन्दा बाहिर जान नसक्ने बताए । प्रतिनिधिसभा विघटन गरिए पनि संविधान बचेको भन्दै उनले अब नयाँ जनादेशबाट देशलाई अघि बढाउनुपर्ने बताएका छन् ।

नागरिक समाजका अगुवाहरूले पनि राष्ट्रपति पौडेललाई समयमै निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएको अन्तरिम सरकारलाई दायाँबायाँ लाग्न नदिन राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छन् ।

महेशकुमार मास्के, मल्ल के. सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई, कनकमणि दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त, सुशील प्याकुरेललगायत नागरिक अगुवाहरू राष्ट्रपति पौडेललाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार