काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार फोनमा कुराकानी भएको छ।
प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीसँग के/के विषयमा कुराकानी गरेको हो भन्नेबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराउने तयारी गरेको छ।
भारतीय प्रधानमन्त्री मोदीले भने नेपालको अन्तरिम प्रधानमन्त्री कार्कीसँग आत्मीय कुराकानी भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै हालै भएको आन्दोलनमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने नेपालको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताएका छन्।
उनले संविधान दिवसको पनि शुभकामना दिएका छन्। कार्कीको शपथग्रहणलगत्तै राति नै भारतको विदेश मन्त्रालयले सबभन्दा पहिला बधाई र शुभकामना दिएको थियो।

