निजामती सेवा दिवसः कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने प्रवृत्तिमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको उनको भनाइ छ । निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुने बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो । सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ ।’

पछिल्लो समय निजामती सेवाका आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित देखिएकाले यस सेवाप्रति नागरिकको जनविश्वास घट्दै गुनासो सुनिएको बताउँदै उनले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पारेका छन् ।

सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भाव मार्फत राज्यले नागरिकको विश्वास जित्न सक्छ भन्ने कुरा सबैले गहिरो रूपमा आत्मसात गर्न आवश्यक रहेकोमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरी सर्भिस म्यापिङ गरी नागरिकका आवश्यकताका आधारमा संस्थागत र नीतिगत पुनरावलोकन गरी सार्वजनिक खर्च, कार्यालय तथा दरबन्दी कटौतीमा जोड दिँदै आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्रोत साधनको सर्वोतम उपयोग गर्ने र पारदर्शी प्रशासनिक अभ्यासलाई संस्थागत गर्ने कार्यमा निजामती सेवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

साथै, दिवसको उपलक्ष्यमा निजामती सेवाका सम्पूर्ण परिवारलाई सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उज्ज्वल भविष्यका लागि शुभेच्छा प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार