कानूनविपरीत गतिविधिमा संलग्न हुने जोसुकैलाई कारबाही हुन्छः गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानूनविपरीत गतिविधिमा संलग्न हुने व्यक्तिलाई राजनीतिक आस्था वा पार्टीका आधारमा कुनै छुट नदिइने स्पष्ट गरेका छन्। विपद् व्यवस्थापन समितिको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सरकार अपराध नियन्त्रण र नागरिक सुरक्षाका विषयमा कडाइका साथ अघि बढ्ने बताएका हुन्।

उनका अनुसार हालै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा नागरिक सेवालाई पहिलो प्राथमिकता दिन तथा अपराध नियन्त्रणमा प्रभावकारी ढंगले काम गर्न निर्देशन दिइएको छ। गलत कार्यमा संलग्न जोसुकै भए पनि निष्पक्ष रूपमा कानूनी प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।

गुरुङले सुरक्षा निकायमाथि हुने राजनीतिक हस्तक्षेप र दबाबको अवस्था अन्त्य भएको दाबी गर्दै सुरक्षा संयन्त्रलाई स्वतन्त्र र जिम्मेवार ढंगले काम गर्न वातावरण बनाइएको बताए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरकारले पूर्वतयारी तीव्र बनाएको पनि उनले जानकारी दिए। विशेषगरी वर्षायामका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुने समस्या देखिएकाले त्यसको समाधानका लागि गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच निरन्तर समन्वय भइरहेको उनले बताए।

पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायतका प्रमुख सडकमार्ग सञ्चालनमा राख्न तथा सम्भावित विपद्का घटनामा शीघ्र प्रतिकार्य गर्न सरकारी निकायहरू सक्रिय रूपमा परिचालित भएको गृहमन्त्री गुरुङको भनाइ छ।

सम्बन्धित समाचार

ताजा समाचार