काठमाडौं । भक्तपुरमा बिहीबार बिहान दुई किशोरी मृतावस्थामा फेला परेका छन् ।
जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ सिन्टीटारमा डेरा गरी स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए ।
घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ । मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुङ्गानाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

