नेपालमा विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले नेपालमा जलविद्युतको कुल सम्भाव्यता करिव ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रुपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गरेका हुन् । उनले विद्युत उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र उर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताए । उनले जलविद्युत उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार र दीगो भविष्यको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘नेपालमा जलविद्युत उत्पादन क्षमताको कुरा गर्दा लगभग ८३ हजार मेगावाट रहेको विभिन्न अध्ययनले भनिरहेका छन् । जसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रुपमा उत्पादन गर्ने देखिएको छ । जलविद्युत आयोजनाले मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार तथा दीगो भविष्यको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने हाम्रो विश्वास छ । हालसम्म जटित विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको छ । विगतको अवस्थालाई हेर्दा यसलाई उत्साहजनक उपलब्धी नै मान्नुपर्छ । जसले विगतको लोडसेडिङको अवस्था अन्त्य गर्दै हामीलाई उर्जा आत्मनिर्भरतिर अग्रसर बनाएको छ । विद्युत उत्पादन क्षमतामा आएको वृद्धि, राष्ट्रिय प्रशारण आएको विस्तार र विदेशी लगानी तथा निजी लगानीकर्ताको साझेदारीले उर्जा उत्पादन र आुपर्ती प्रणालीलाई सन्तुलनतर्फ उन्मुख गरेको छ ।’

उहाँले नेपालमा वर्षायाममा क्षमताभन्दा बढी र हिउँदमा एक तिहाई मात्र विद्युत उत्पादन गर्न सकिने पनि बताए । उनले विद्युत उत्पादन कम हुने समयमा छिमेकी मुलुक भारतबाट विद्युत आयात गरी आन्तरिक मागको आपूर्ति गर्दै आएको पनि बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार