काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख दुई ठूला राजनीतिक दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले राजावादीहरुलाई तहल लगाएको भन्दै जनतामा भ्रम छरेर लुट्ने काम भइरहेको आरोप लगाएका हुन् । उनले संसदमा लामो सयमदेखि दुई महत्वपूर्ण राजनीतिक दलहरुले विरोध गरिरहेका पनि सरकारले दुई तिहाईका शक्ति प्रदर्शन गरिरहेको टिप्पणी गरे। उनले गतिरोध र त्यसको व्यवस्थापनप्रति सभामुखले खलेको भुमिकाप्रति पनि आपत्ति जनाए । उनले संसदमा डेढ महिनादेखि विरोध भइरहँदा पनि जबर्जस्ती बैठक चलाइएको उल्लेख गदैए यो समय सभामुखको कार्यकालकै कालो समयको रुपमा रहने टिप्पणी गरेका छन् ।
उनले भने, ‘राजावादी र गणतन्त्रविरोधीलाई तह लगायौं भनेर गंका पिटेर जनतालाई भ्रम छरेको के रहेछ, छट्टु स्यालको कथा पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल टिप्ने ? जनताको ध्यान एकातिर लगेर दुई ठूला–ठूला पार्टीबीच सरकार बनाएर देश लुटेर बस्ने अनि जनताले टुलुटुलु हेरेर बसनुपर्ने ? यो कुरा कदापि सह्य हुदैन सभामुख महोदय । यसको प्रतिवाद हुन्छ । हामी संसदबाट विरोध गरिरहेका छौं र आवश्यक प¥योभने हामी सडकबाट पनि प्रतिवाद गरिन्छ । दुई दलहरुले भिजिट भिसाको विरोधमा आवाज उठाइरहेका छौं । यसको गलत व्याख्या नगरियोस् । भिजिट भिसामा जाने मानिसको विरोध गरिएको होइन । विदेश जाँदा खेरी मान्छे भिजिट भिसामै जाने हो । जसरी रकम असुली गरेर बेरोजगार युवाहरुको रोजगारी खोज्ने चाहानामाथि कमाउने सरकारको सुनियोजित धन्दाको हामीले विरोध गरेका हौं । म सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु सभामुद महोदय, यो संसदीय इतिहासमा कालो समय हो । संसदका दुई महत्वपूर्ण राजनीतिक दलहरुले डेढ महिनादेखि संसदमा विरोधमा गर्दाखेरी जुन संसद चलाउने प्रयास भइरहेको छ । केवल सरकारको अकर्मण्यता र उदासिनता मात्र होइन तपाईको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रुपमा उल्लेख रहनेछ ।’
उनले बेरोजगार युवाबाट रकम असुली गरेर भिजिट भिसाको दुरुपयोग गरेको विषयमा आफूहरुको आन्दोलन जारी रहने पनि बताएका छन् ।

