काठमाडौं । जिल्ला अदालत काठमाडौंमा चालु आर्थिक वर्षको असार २७ गतेसम्म २५ हजार ६ सय ३९ वटा मुद्दा दर्ता भएका छन् ।
आईतवार (आज) पत्रकार सम्मेलनको आयोजना गरी अदालतले यसबारेमा जानकारी गराएको हो । गत वर्षको जिम्मेवारी सरेको मुद्दा २६ हजार ५०२ गरी यस आर्थिक वर्षमा अदालतमा जम्मा लगत संख्या ५२ हजार १ सय ४१ पुगेको छ ।
पत्रकार सम्मेलनका क्रममा काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले चालु आ.व.को असार २७ गतेसम्म अदालतले २६ हजार ७ सय ४४ मुद्दा फछ्र्यौट गरेको बताए । अब २५ हजार ३ सय ९७ वटा मुद्दा बाँकी रहेको उनले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । अदालतले दुई वर्ष नाघेका बाँकी मुद्दा १ हजार ८ सय ५३ वटा रहेको बताएको छ । त्यस्तै फैसला कार्यान्वयनतर्फ चालु आ.व.को असार २७ गतेसम्म जम्मा लगत ३३ हजार ३ सय ९३, फछ्र्यौट ४ हजार १ सय ८०, बाँकी २९ हजार २ सय १३ रहेको छ । कैदतर्फ ८२ प्रतिशत फछ्र्यौट भएका छन् भने जरिवानातर्फ ४२ प्रतिशत फछ्र्यौट भएका छन् । सरकारी बिगोतर्फ ३७ लाख ३४ हजार ४ सय ५९ फछ्र्यौट भएका छन् भने निवेदनतर्फका २ हजार ४ सय २७ फछ्र्यौट भएका छन् ।
त्यस्तै, मेलमिलापतर्फ मेलमिलाप केन्द्रमा पेश भएका २ हजार ७ सय ५ मुद्दामध्ये सफल भएका मुद्दाको संख्या ३ सय १ रहेको छ । मेलमिलाप शाखामा चालु रहेका मुद्दा ३ सय ८४ र मेलमिलाप हुन नसकी फिर्ता भएका मुद्दा २ हजार २० रहेको छ । मेलमिलापतर्फ कुल सफल प्रतिशत १४.२० रहेको छ ।
अदालतले २०७७—०७८ मा ३७.०९, २०७८—०७९ मा ३९.२९, २०७९—०८० मा ४२.४५, २०८०—०८१ मा ४६.८१ र २०८१—०८२ मा ५१.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशहरुको जम्मा दरबन्दी ४३ रहेकोमा अहिले ३९ जना छन् । ४ जना रिक्त छ । अन्य अदालतबाट काजमा गएको न्यायाधीशको संख्या २ गरी अहिले काम गरिरहेका न्यायाधीशको संख्या ३७ रहेको अदालतले जनाएको छ ।
अदालतले कार्यबोझ, न्यायाधीश तथा कर्मचारीहरुको दरबन्दीअनुसार अदालतको भवन लगायतको भौतिक अवस्था अपुग भएको गुनासो छ ।

