काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको मानिन्छ ।
१८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको हो ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देशहरुमा पनि मनाइन्छ ।

