मनसुनजन्य विपदबाट जोगिन थालियो पूर्व तयारी

महेन्द्रनगर। मनसुन सक्रिय हुँदै जाँदा यस वर्ष विपद् जन्य घटनाबाट जोगिन कञ्चनपुरमा पूर्व तयारी थालिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले नौ वटै पालिकामा मनसुन जन्य विपदका घटनाबाट जोगिन पूर्व तयारी थालिएको हो ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र र दोधाराचाँदनी नगरपालिकामा बाढी र डुबानको समस्या अत्यधिक हुने भएकाले ती पालिका हरूमा स्वयम् सेवक खटाइ उनीहरूलाई तालिम उपलब्ध गराइएको जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरले जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले दोधारा चाँदनी नगरपालिकामा ५२ स्वयम् सेवक, लालझाँडी गाउँपालिकामा ५० स्वयम सेवक र लालझाडी गाउँपालिकामा २७ जना स्वयम् सेवकलाई पूर्व तयारी तालिम उपलब्ध गराइएको बताए। बाढी प्रभावित बस्ती, समुदाय र व्यक्तिको पहिचान गरी विपदको समयमा घर छोड्न र डुबानबाट जोगाउन सहज हुने प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ।

स्वयम् सेवकहरुलाई आवश्यक सामग्री उपलब्ध गराउन पनि पालिकाहरूसँग छलफल भएको उहाँले बताउनुभयो । विपद् आएका बखत उनीहरूले समयमै डुबानमा परेकाको उद्धार गर्ने, उचित स्थानमा सार्नै र बाढी प्रभावित क्षेत्रको समयमै सूचना प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

बाढी प्रभावित क्षेत्रमा कटान र डुबानको समस्या निवारण गर्न कटान रोक्न पूर्व तयारी थालिएको उनले बताए। हाल महाकाली नदीमा नेपाली सेनाले गाइडबण्ड निर्माणको काम गरिरहेको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा पालिकाहरूले तटबन्ध निर्माणको काम गरिरहेका जनाइएको छ। विपदबाट जोगिन बन्दोबस्त सामग्रीको तमतयार अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। विपद प्रतिकार्य योजनामा पहिचान गरी त्यसै अनुरूप आवश्यक परेको बेला संयन्त्र परिचालन गरिने उनले बताए।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल न.३५ गण हे।क्व। शैलेश्वरी कञ्चनपुरले जिल्लाका विभिन्न ६ स्थानमा विपद् बेस क्याम्प खडा गरेको छ।, मनसुन जन्य विपदमा परेकाको तत्कालै उद्धारका लागि बेस क्याम्पस खडा गरिएको सशस्त्र प्रहरी बल नेपाल न।३५ गण हेर्ड क्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख लोकेन्द्र भट्टले जानकारी दिए।

उनका अनुसार, शुक्लाफाँटा नगरपालिका १२ कालागौडी, गड्डाचौकी, भुजेला, कृष्णपुर नगरपालिका ५ सीमरी, बेलौरी नगरपालिका १० भुडा र दोधाराको कुतियाकभरमा विपद् बेस क्याम्प खडा गरिएको छ। प्रति बेस क्याम्पमा १० जना जनशक्ति परिचालन गरिने उनको भनाइ छ।

सम्बन्धित समाचार

ताजा समाचार