काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गरेकी छन् ।
टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत् जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् ।
मन्त्री राणाले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत् आर्थिक वृद्धि र गरिबी निवारण, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवम् प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।
भेटमा उनीहरुबिच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकहरुसम्बन्धी विषयमा पनि कुराकानी भएको थियो ।

