सडक विस्तारका नयाँ आयोजनामा पुराना गल्ती सच्याइँदै, एकै पटक भत्काउन नपाइने

सडक विस्तार र स्तरोन्नति क्रममा लामो समय लाग्ने र त्यसले आमयात्रुको आवतजावत कष्टकर बन्दै गएपछि सरकारले नयाँ आयोजनामा गल्ती सच्याउने भएको छ ।

अब लाग्ने हरेक ठेक्कामा एकै पटक सडक भत्काउन नपाइने गरी गल्ती सच्याइने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले बुटवल–गोरुसिङ्गे सडकबाटै यस्तो गल्ती सच्याइने बताए । ‘विगतमा सडक विस्तारका क्रममा एकै पटक सबै भत्काउने र त्यसको निर्माणमा ढिलाइ हुँदा धेरै नै सास्ती भोग्नुपर्‍यो,’ उनले भने, ‘अब यो गल्ती नहुने गरी सडक निर्माण र विस्तार हुनेछ ।’

मन्त्रालयका अनुसार अब सडक विस्तार क्रममा नियमित सञ्चालन हुने सवारीसाधन आवतजावतमा कम असर पर्ने गरी निर्माणको काम गरिने छ । त्यस अन्तर्गत क्रसिङ, कल्भर्ट, पुल र सर्भिस लेनको काम चालु रहेसम्म बीचको मूल सडक भत्काइने छैन ।

 

मुल सडक भत्काउँदा समेत पहिलो दुई लेनको काम सम्पन्न भएपछि मात्र दोस्रो दुई लेन भत्काएर निर्माण गरिने सचिव शर्माले जानकारी दिए ।

सडक विस्तार क्रममा सबैभन्दा धेरै सास्ती यात्रुले बुटवल–नारायणघाट सडकमा आएका छन् । सरकारले यस आयोजनामा बढी गालीसमेत पाएको छ । निर्माण व्यवसायीले सम्झौता अनुसार काम नगरेपछि त्यसको मारमा विकासे आयोजना परेका छन् ।

बुटवल(नारायणगढ सडकरफाइल तस्वीर
सचिव शर्माका अनुसार आगामी निर्माण र विस्तार क्रममा रहेका सबै आयोजनामा सोही अनुसार ठेक्का सम्झौता गरिएको छ । ‘कतिपय कुरा विगतका अभ्यासबाट पनि पाठ सिक्नुपर्ने हुन्छ,’ उनले भने, ‘निर्माण सुरु नहुँदा जथाभावी सडक भत्काउन अब दिँदैनौं ।’

सडक विस्तार गर्दा एक छेउबाट काम सुरु गर्ने र अर्को छेउसम्म पुग्दा वर्षौं लाग्ने समस्या रहेको भन्दै मन्त्रालयले अब दुवै छेउबाट काम थाल्ने समेत जनाएको छ ।

यसका साथै निश्चित किलोमिटरमा मात्र काम थालेर त्यो सम्पन्न भएपछि थप सडकमा काम थाल्ने गरी आयोजना अगाडि बढाउने मन्त्रालयको तयारी छ ।

सडक विस्तार क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत अरुणखोला क्षेत्रमा भत्काइएको सडकको अवस्थारफाइल तस्वीर
उता, बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालयले समेत सडक विस्तार क्रममा पूर्वतयारीका काम सम्पन्न गरेपछि मात्र सडक भत्काउने तयारी गरेको छ ।

सडक विस्तार थाल्नु अगाडिका काम सम्पन्न गर्न केही समय लाग्ने र त्यसपछि मात्र खन्ने काम थालिने आयोजनाले जनाएको छ । पूर्वतयारी अन्तर्गत निर्माण सामग्री साइटमा लैजाने, सडक क्षेत्राधिकारमा रहेका संरचना हटाउने, रुख कटान, पुल र अन्डरपास निर्माण गर्न माटो परीक्षण जस्ता काम हुनेछन् ।

पूर्व–पश्चिम राजमार्ग बढी सवारीसाधन गुड्ने नेपालको ‘लाइफलाइन’ राजमार्ग हो । उक्त राजमार्ग अहिले विभिन्न खण्डमा बाँडेर चार लेनमा विस्तार गर्ने काम भइरहेको छ ।

बुटवल–नारायणगढ सडकरफाइल तस्वीर
बुटवल–नारायणघाट सडक आयोजनामा ठेकेदार फकाउँदै सरकार

सडक विस्तार गर्न आलोचित बनेको बुटवल–मुग्लिन सडक खण्डमा भने पटक–पटक चेतावनी दिँदासमेत निर्माण कम्पनीले अपेक्षित प्रगति देखाउन सकेको छैन ।

यसबाहेक यही निर्माण व्यवसायीबाटै यो आयोजना सम्पन्न गराउने सरकारको लक्ष्य छ । ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा मुद्दा मामिला हुने, प्रक्रिया लम्बिने र आयोजना थप संकटमा पर्ने भन्दै मन्त्रालयका उच्च अधिकारीहरू सकेसम्म ठेकेदारलाई ‘मनाएरै’ आयोजना सक्ने लक्ष्यमा छन् ।

‘फकाएर, धम्क्याएर वा के गरी हुन्छ, यसै कम्पनीबाट काम गराउने हाम्रो चाहना हो,’ पत्रकारहरूसँगको एक अन्तक्र्रियामा मन्त्रालयका सचिव शर्माले भने, ‘ठेक्का तोडेर जाँदा नयाँ प्रक्रियामा जानुपर्छ, त्यो थप झन्झटिलो हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार