अलपत्र नवजात शिशु कार्यक्रम : स्वास्थ्य सेवाकै गुणस्तरमा गम्भीर प्रश्न

स्वास्थ्य क्षेत्रमा प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न योजना र कार्यक्रम चलाइरहे पनि नेपालमा नवजात शिशुको जीवनरक्षा अझै पनि चुनौतीका रूपमा रहेको छ । ५ वर्षमुनिका बालबालिका तथा १ वर्षसम्मका शिशुको मृत्युदर विस्तारै घट्दै गए पनि नवजात शिशुको मृत्युदर अझै पनि उच्च छ ।

दिगो विकासको लक्ष्यअनुरूप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कम ल्याउने सरकारी प्रतिबद्धता छ । तर, अहिलेकै क्रम जारी हुने हो भने नवजात शिशुको मृत्युदर घटाउने दिगो विकासको लक्ष्य हासिल गर्न कठिन छ । सन् १९९६ यताको २६ वर्षको तथ्यांक नियाल्दा बाल तथा शिशुमृत्युदर घट्दै गएको देखिए पनि नवजात शिशुको मृत्युदरमा आशातीत गिरावट आउन सकेको देखिँदैन ।

सन् १९९६ मा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा १ सय १८ थियो, सन् २०२२ मा आइपुग्दा यो संख्या घटेर ३३ मा आइपुगेको छ । झण्डै तीन दशकको अवधिमा संख्यात्मक रूपमा उल्लेख्य सुधार देखिएको छ, यद्यपि लक्ष्य हासिल गर्न अझै निकै सुधारको आवश्यकता छ ।

त्यस्तै, यस अवधिमा १ वर्षमुनिका शिशुको मृत्युदर प्रतिहजार ७८ बाट २८ मा झरेको देखिन्छ । यसै अवधिमा नवजात शिशुमृत्युदर ५० बाट २१ प्रतिहजारमा आइपुगेको छ । यस तथ्यांकले ५ वर्षमुनिका बालबालिका तथा १ वर्षमुनिका शिशुको तुलनामा नवजात शिशुमृत्युदरमा गिरावटको अनुपात न्यून रहेको देखाउँछ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार पनि नवजात शिशुको मृत्युदर प्रतिहजार २१ छ । सन् २०११ मा २८ दिनभित्र जन्मिएका नवजात शिशुको मृत्यु प्रतिहजार ३३ थियो । यसमा पनि केही वर्षअघिसम्म घट्दै गएको नवजात शिशुमृत्युदर पछिल्ला केही वर्षमा स्थिर छ, जुन थप चुनौतीको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार