काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न इरानले राखेको पछिल्लो प्रस्तावलाई अस्वीकार गरेका छन्।
युद्ध अन्त्य र आणविक कार्यक्रमबारे वार्ताका लागि अमेरिकाले पठाएको १४ बुँदा समेटिएको एकपन्ने समझदारी पत्रमा (एमओयू) इरानले जबाफ पठाएको छ।
इरानले जबाफ पठाएको बताएको केही घण्टापछि ट्रम्पले त्यसलाई अस्वीकार गरेका हुन्।
इरानको प्रस्तावका विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अनि ट्रम्पले त्यसको कुन पक्ष आपत्तिजनक थियो भन्ने पनि खुलाएका छैनन्।
अमेरिकाले पठाएको मस्यौदामा युद्ध अन्त्यको घोषणा गर्दै ३० दिनको विस्तृत वार्ता सुरू गर्ने प्रस्ताव छ।
उक्त अवधिमा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने, इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकी प्रतिबन्ध हटाउने विषयमा विस्तृत सम्झौता गर्ने प्रस्ताव गरिएको छ।
एक महिनाको अवधिमा इरानले हर्मुजमा जहाज आवतजावतमा लगाएको प्रतिबन्ध र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी क्रमशः हटाइनेछ।
वार्तामा सबभन्दा पेचिलो विषय अहिले पनि आणविक कार्यक्रमकै छ। इस्लामावादमा गत महिना भएको वार्तामा इरानले २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्नुपर्ने अमेरिकाले अडान लिएको मानिन्छ।

