चितवन । पार्टी स्थापना भएको चार वर्ष नपुग्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाउन सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ।टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए। छोटो समयमै भएको निर्वाचनमा उल्लेख्य जनसमर्थन पाएपछि रास्वपा नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा स्थापित भएको हो।
आज चितवनको गेष्टहाउस चौरमा दिउँसो १ बजे हुने उद्घाटन समारोहमा देशभरबाट करिब चार हजार प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ। महाधिवेशनबाट १९ जना पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ।महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय मान्यता प्राप्त दल तथा राजनीतिक दलका प्रमुख नेताहरूलाई निमन्त्रणा गरिएको भए पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई भने सहभागी हुने बताइएको छ।
रास्वपाको महाधिवेशनलाई पार्टीको संगठनात्मक संरचना बलियो बनाउने र आगामी राजनीतिक दिशासहितको नीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
छोटो समयमै ठूलो राजनीतिक प्रभाव
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जित्दै संसद्को चौथो ठूलो दल बनेको थियो। पार्टीको अप्रत्याशित सफलताले नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको थियो।रास्वपाले पुराना राजनीतिक दलप्रति बढेको असन्तुष्टि, सुशासनको माग र वैकल्पिक राजनीतिक शक्तिको खोजीलाई आफ्नो आधारका रूपमा प्रस्तुत गर्दै आएको छ।
सभापति रवि लामिछानेले सञ्चारकर्म छोडेर राजनीतिमा प्रवेश गर्दा देशको राजनीतिक प्रणाली सुधार गर्ने उद्देश्यसहित नयाँ शक्ति निर्माण गरेको बताएका थिए।
चुनौतीबीच नेतृत्व यात्रा
रवि लामिछानेको राजनीतिक यात्रा भने विवादरहित रहेन। नागरिकता, राहदानी तथा सहकारी प्रकरणसँग सम्बन्धित विषयमा उनीमाथि विभिन्न कानुनी प्रश्न उठेका छन्। सहकारी प्रकरणमा उनीविरुद्ध अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढेको थियो।
रविले भने आफूविरुद्ध राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएका छन्। कानुनी विवादका बीच पनि उनले पार्टी नेतृत्वलाई निरन्तरता दिएका छन्।रास्वपाको पहिलो महाधिवेशनले अब पार्टीको संगठन, नेतृत्व र आगामी राजनीतिक रणनीतिको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
चार वर्षअघि स्थापना भएको एउटा नयाँ दल अहिले राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उभिएको छ। तर जनताको अपेक्षा पूरा गर्ने क्षमता र व्यवहारिक शासन सञ्चालन नै रास्वपाको आगामी सफलताको मुख्य आधार बन्नेछ।

