सिरहाको सहजा खोलामा पुल निर्माण अलपत्र, स्थानीय आन्दोलित

हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा अलपत्र परेको पुल तत्काल निर्माणको माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।पुल नहुँदा बारम्बार दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले सोमबार बिहान अलपत्र पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका छन् ।प्रदर्शनका क्रममा स्थानीयले प्रहरी, प्रशासन र ठेकेदारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी स्थानीय दिपेन्द्र यादवका अनुसार पुल निर्माण अलपत्र हुँदा दैनिकजसो दुर्घटना  भइरहेको छ र निर्दोष नागरिकले ज्यान गुमाइरहनु परेको छ ।अर्का स्थानीय लक्ष्मी प्रसाद यादवका अनुसार वर्षामा आउने बाढी तर्न नसक्दा आवतजावत पूर्ण रूपमा ठप्प हुन्छ, जसले गर्दा दैनिक यात्रामा कष्टकर हुने गरेको छ ।यसैगरी अमित कुमार यादव  ले पुल निर्माण सुरु भएको करिब चार वर्ष बितिसक्दा पनि काम सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको लापरबाही भएको आरोप लगाएका छन्  ।

२०७९ साल माघ १५ गते करिब ११ करोड ५४ लाख रुपैयाँ लागतमा सुगम निर्माण सेवा प्रा।लि।, महेन्द्रनगर धनुषाले पुल तथा कल्भर्ट निर्माणको ठेक्का पाएको थियो । सम्झौता अनुसार म्याद सकिएर एकपटक थप भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्ण कुमार महतोका अनुसार ठेकेदार हाल सम्पर्कविहीन छन् । एक साताभित्र सम्पर्कमा आएर काम सुरु नगरे ठेक्का तोड्ने तयारीमा रहेको उनले बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार