नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची आज बिहानसम्म पनि बुझाउन सकेको छैन ।
मंगलबार बिहान सचिव कृष्णप्रसाद पौडेलले भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं र काम गर्दैछौं ।’निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउन पुस १३ र १४ गते ९आइतबार र सोमबार०को समय दिएको थियो । सोही अनुसार रातभरसम्म नामावली बुझ्ने–बुझाउने काम जारी थियो ।
सुरुमा नेपाली कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल नामावली बोकेर पहिल्यै निर्वाचन आयोगको कार्यालय पुगेका थिए । मंगलबार बिहानपख करिब चार बजेतिर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग आइपुगे ।
तर मुख्य सचिव र परियारले बोकेको नामावलीको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाइएपछि आयोगका कर्मचारीहरुले नामावली बुझ्न मानेनन् । त्यसपछि महामन्त्री शर्माले सभापतिको हस्ताक्षर गराउन मुख्य सचिव पौडेल र विश्वकर्मालाई देउवा निवास महाराजगञ्ज पठाए । महाराजगञ्ज पुगेका उनीहरु यो समाचार तयार पार्दासम्म आयोगको कार्यालय फर्किएका छैनन् ।
आयोगका एक कर्मचारीले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने बताए ।

