ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भन्ने भ्रम फैलाउनेहरुलाई ‘नेपाल विरोधी वर्ग’को संज्ञा दिँदै ती तत्वहरूबाट सचेत रहन आग्रह गरेका छन् ।
२०७८ असार १ गतेको विनाशकारी बाढीबाट क्षतिग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले नेपालमा सकारात्मक सोचका साथ काम गर्नु जरुरी रहेको बताए । ‘नेपाल आफैंले बनाउने हो, नकारात्मक भाष्य फैलाएर कसैको भलो हुँदैन,’ उनले भने ।
उनले मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माणप्रति सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको जानकारी दिए । ‘यहाँको समस्या हामीलाई अवगत भयो, बजेट बनाउने बेला आएको छ, सम्भव भएसम्म प्रयास गरिनेछ,’ उनले भने ।
सिंचाई परियोजनासम्बन्धी जानकारी दिंदै मन्त्री खड्काले इन्द्रावती गाउँपालिकाको भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाई सुविधा पुर्याउने विस्तृत परियोजना अघि बढाइएको उल्लेख गरे । ‘यी टारहरूमा सिंचाई सुविधा पु¥याएपछि जिल्लाले खाद्यान्नका लागि बाहिर निर्भर रहनु पर्नेछैन,’ उनको भनाइ थियो ।
उनले सिन्धुपाल्चोककै कारण काठमाडौं उपत्यकाले खानेपानी पाएको जनाउँदै, जनताको विकासप्रतिको अधिकारप्रति सरकार गम्भीर रहेको स्पष्ट पारे । ‘तटबन्धन निर्माण, सिंचाईका लागि नहर तथा कुलो निर्माण, ड्याम बनाएर हाइड्रोपावर तथा खानेपानी वितरणलगायत थुप्रै कामहरू भइरहेका छन्,’ उनले भने ।
नेपालको अर्थतन्त्र कमजोर पार्न नियोजित रूपमा ‘भएन, केही भएन’ भन्ने नकारात्मक प्रचार गर्नेहरूलाई सचेत गराउँदै मन्त्री खड्काले भने, ‘हाम्रो माटो, हाम्रो भूमि हामीले नै निर्माण गर्नुपर्छ। यस्तो देशविरोधी मानसिकता भएका तत्वहरूबाट सतर्क रहन आवश्यक छ ।’

