जम्मूकश्मीर हमला : नेपाल भारतको साथमा

काठमाडौं । भारतको जम्मूकश्मीरस्थित पहलगामको बैसारन क्षेत्रमा पर्यटकमाथि लक्षित गरी गरिएको आतङ्कवादी हमलापछि नेपालका शीर्ष नेताहरूले घटनाको कडा शब्दमा भर्त्सना गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत घटनाप्रति गहिरो दुःख र आक्रोश व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा व्यक्त गर्दै भनेका छन्, ‘भारतको पहलगाममा भएको आतङ्कवादी हमलामा निर्दोष नागरिकको ज्यान गएको खबर अत्यन्त दुःखद छ । यस प्रकारका हिंसात्मक कार्यहरू निन्दनीय छन् र कडाभन्दा कडा शब्दमा भर्त्सना गरिनुपर्छ ।’

उनले आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले पनि एक्समा लेख्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘हमलामा पीडित सबैप्रति गहिरो समवेदना प्रकट गर्दछु । नेपाल भारतसँग दृढताका साथ उभिएको छ र आतंकवादका सबै रूपको विरोध गर्दछ ।’

उनले उक्त घटनामा एक नेपाली नागरिक पनि मारिएको पुष्टि हुन लागेको जानकारी दिँदै पीडितहरूलाई आवश्यक सहयोग पुर्‍याइने बताएका छन् ।

 

नेपालको परराष्ट्र मन्त्रालयले भारतको सो घटनाप्रति कडा निन्दा गर्दै वक्तव्य जारी गरेको छ । मन्त्रालयले भनेको छ, ‘निर्दोष पर्यटकलाई लक्षित गर्दै गरिएको बर्बर हमला अत्यन्त दुःखद र निन्दनीय छ । मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछौं ।’

मन्त्रालयले शोकको यस घडीमा नेपालले भारतसँग ऐक्यबद्धता प्रकट गरेको उल्लेख गरेको छ। नेपालको अडान स्पष्ट छ- कुनै पनि आतङ्ककारी गतिविधि कुनै पनि हालतमा जायज ठहरिन सक्दैन ।

 

मंगलबार बैसारन क्षेत्रमा पर्यटकमाथि भएको गोली प्रहारमा कम्तीमा २७ जनाको मृत्यु भएको भारतीय मिडियाहरूले जनाएका छन् । मृतकमध्ये एक नेपाली नागरिक सन्दिप न्यौपाने रहेको पुष्टि भएको छ भने अर्को व्यक्तिको नाम बितन अधिकारी देखिए पनि उनको नागरिकता खुलेको छैन ।

बैसारन, जसलाई ‘मिनी स्वीट्जरल्यान्ड’ भनेर चिनिन्छ, पर्यटकबीच निकै लोकप्रिय गन्तव्य हो । यही ठाउँमा आतंककारीले नाम सोधी-सोधी पर्यटकहरूलाई निशाना बनाउँदै हत्या गरेका थिए । यसअघि सन् २०१९ मा पनि जम्मुकश्मीरको पुलवामा क्षेत्रमा ठूलो आतङ्कवादी हमला भएको थियो, जसमा ४० भारतीय सैनिकको ज्यान गएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार