नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७६ औँ स्थापना दिवस मनाइएको छ । २००६ साल वैशाख ९ गते भारतको कोलकातामा नेपाल नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । जसको नेतृत्व पुष्पलाल श्रेष्ठले गरेका थिए ।
पार्टीका तत्कालीन संस्थापक महासचिवमा पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ गरिरहेका थिए । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७६ औँ वर्षे इतिहासको नेपालका कम्युनिस्ट पार्टीहरूले खुलेर प्रशंसा गर्छन् ।
तर नेकपाको ७६ औँ वर्षे इतिहास सुखदायी भने छैन । नेकपाका कम्युनिस्ट पार्टीहरू अहिले चारतिर फर्किएका छन् । ७६ वर्षे अवधिमा कम्युनिस्ट पार्टीहरूको फुटको क्रम निरन्तर चलिरहेको छ । २०१७ सालमा पहिलो पटक फुटेका कम्युनिस्टहरूको त्यसता विभाजनको चरण निरन्तर छ ।
२०७४ को आमनिर्वाचनमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकै ठाउँ उभिए । उनीहरूले झन्डै दुई तिहाइ सिट पनि हासिल गरे । एमाले र माओवादी केन्द्रले वि.स. २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए ।
जसको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै हुनुहुन्थ्यो । तर, एमाले र माओवादी केन्द्रको एकता लामो समय टिक्न सकेन् । नेकपा फुटेपछि तत्कालीन एमाले र माओवादी केन्द्र पुनः ब्युँतिए ।
त्यसमा पनि, एमालेका केही नेताहरू पार्टीबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गर्नुभयो । जसको नेतृत्वमा माधव कुमार नेपाल छन् ।
नेपालमा अहिले १६ वटा कम्युनिस्ट पार्टीहरू छन्, जसमा कोही संसदभित्र छन् भने कोही संसदबाहिर छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा लगायतका दलले संसद्मा प्रतिनिधित्व गरेका छन् ।
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, सिपी मैनाली नेतृत्वको नेकपा माले लगायतका कम्युनिस्ट पार्टीहरू संसदबाहिर छन् ।
नेपाल पटक पटक कम्युनिस्ट एकताको विषयले चर्चा पाउँछ । तर चार तिर फर्किएका कम्युनिस्ट हरूको एकता विभाजनजस्तो सजिलो छैन । अहिले कम्युनिस्ट दलका नेताहरू एकले अर्कालाई धारे हात लगाउँदै चर्को आलोचनामा उत्रिँदै आएका छन् ।
मंगलबार काठमाडौँमा नेकपा)को ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ सालमा भएको वाम एकताको सम्झना गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लक्षित खनिए ।
उनले २०७५ सालमा कम्युनिस्ट पार्टीलाई झन्डै दुई तिहाइको शक्तिको साथमा उभ्याएको बताउँदै केही ईष्र्यालु र परिचालित कठपुतलीहरूका कारणले नेकपा फुटाएको बताए । उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि पनि खनिए ।
उनले नेपालप्रति लक्षित गर्दै दुई तिहाइमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छौ भने पार्टी फुटाएर हिँडेको आरोप लगाए । उनले त्यतिमा मात्रै रोकिनुभएन, माधवतिर लक्षित गर्दै ‘जुन आमाको कोखमा बसेर हुर्कियो, उनै आमाको अस्तित्व मार्न’ लागेको आरोप लगाए ।
माओवादी केन्द्रका अध्यक्ष अझै पनि कम्युनिस्ट एकताको नारा उठाउँदै छन् । उनले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नथाकेको र क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नआत्तिएको समेत बताउँछन् ।
उनले केपी ओली लगायतका कम्युनिस्ट पार्टीहरूका नेताहरूलाई लक्षित गर्दै अवसरवादका कारण सफल हुन नसकेको बताए । मंगलवार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा उनले सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई छलफलमा आउन आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)माथि खनिन छोडेनन् । उनले नेकपा (माओवादी केन्द्र) अवसरवादी पार्टीको रूपमा उल्लेख गरे ।
उनले केही दिनअघिसम्म काँग्रेसको पिठ्युँमा चढेर माओवादीले घमन्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको जिकिर गरे ।
काँग्रेसको बुई चढेर अहिले एमालेले पनि आगामी निर्वाचनमा पनि बहुमत ल्याउने घमन्ड गरिरहेको उनले बताए ।
नेकपाको नेतृत्व गरेको नेत्रविक्रम चन्दले माओवादी केन्द्र अध्यक्ष दाहाल र नेपाल समाजवादी (पार्टी) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति गुनासो पोखे । उनले प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दिएको भन्दै उहाँहरुले आफूहरुलाई साथ नदिएको बताए ।
त्यसो त, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा बनाइएको छ । २०८० असार ४ मा गठन भएको समाजवादी मोर्चाको पनि औचित्य खासै देखिएको छैन ।
दलहरूले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि भुमिका खेल्ने बताएका थिए ।
तर अपेक्षाकृत सक्रियता भने देखिएको छैन । नेपालमा कम्युनिस्टहरूको एकता होस् या नहोस् सत्तामा पुग्न जति बेला पनि संसद्मा प्रतिनिधित्व गर्ने कम्युनिस्टहरू दलहरू मिल्न तयार हुन्छन् ।
कम्युनिस्ट पार्टीहरूले सत्ता र कुर्सीलाई नै पहिलो प्राथमिकता राख्ने प्रवृत्तिले कम्युनिस्ट एकता सधैँ चर्चामा मात्र सीमित हुने गरेको छ ।

