काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतलाई लिएर विवाद चुलिएको छ। नेपाल शिक्षक महासंघले गीतका शब्द र भिडियोले शिक्षिकाको मर्यादामा आँच पुर्याएको भन्दै हटाउन माग गरेको छ।
गीतका सर्जक दुर्गेश थापाले भने विवाद शब्दमा नभई बुझाइमा भएको दाबी गरेका छन्। उनका अनुसार गीतमा प्रयोग गरिएको ‘म्याथ सिक्ने’ भन्ने शब्दलाई गलत अर्थ लगाइएको हो। चलचित्रमा प्रियंका कार्की गणित शिक्षिकाको भूमिकामा रहेकाले सोही सन्दर्भमा गीत तयार गरिएको उनले बताए।
दुर्गेशले गीतलाई विवादित बनाएर लोकप्रिय बनाउने उद्देश्य नरहेको स्पष्ट पार्दै यो केवल चलचित्रको प्रचारका लागि बनाइएको बताए। भिडियोप्रति उठेका आलोचनाबारे उनले कोरियोग्राफी आफ्नो जिम्मेवारी नभएको उल्लेख गर्दै भिडियोमा देखाइएको सम्बन्ध साना बालबालिकासँग नभई प्लस–टु तहका पात्रहरूसँगको प्रस्तुतिकरण भएको दाबी गरेका छन्।
यता निर्माण टिम भने शिक्षक महासंघको आपत्तिपछि आगामी कदमबारे छलफलमा जुटेको छ।

