काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज पनि जारी छ । बिहीबार साँझ पनि सरकारले मिटरब्याज पीडितसँग सिंहदरबारमै वार्ता गरेको थियो ।
यही असार २५ गते जनकपुरबाट मार्चपासहित काठमाडौं हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमै रोकेर वार्ता अघि बढाएको थियो ।
गृहमन्त्री सुधन गुरुङ बारामै गएर सङ्घर्ष समितिसँग विभिन्न चरणमा वार्ता गरेपछि सरकारसँग अन्तिम सहमतीको लागि सङ्घर्ष समितिका पदाधिकारी हिजो काठमाडौं आएका छन् ।
सङ्घर्ष समितिका बाँकी आन्दोलनकारी भने अहिले पनि निजगढमै बसेर खबरदारी गरिरहेका सङ्घर्ष समितिकी सल्लाहकार सरस्वती मिश्रले जानकारी दिइन् ।
निजगढमा भएका विभिन्न चरणका वार्तामा गृहमन्त्री गुरुङ मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्दै त्यसविरुद्ध छुट्टै कानुनी संरचना बनाउन सहमत भएका जनाइएको छ ।
गृहमन्त्री गुरुङ र आन्दोलनरत मिटरब्याजपीडितबीच निजढमा जुटेको सहमतिलाई आजको वार्ताले अन्तिम रूप दिने जनाइएको छ ।

