काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण सप्तरी जिल्लामा एक हजार ११४ बिघाभन्दा बढी क्षेत्रफलमा धानबाली तथा खेतीमा क्षति पुगेको छ।
जिल्लाका विभिन्न स्थानीय तहमा करिब ७५४.८३ हेक्टर अर्थात् एक हजार ११४ बिघा क्षेत्रफलमा लगाइएको तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको धानखेती प्रभावित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र सप्तरीले जनाएको छ। असार २७ गते रातिदेखि निरन्तर परेको वर्षाका कारण खोलानाला र नहरमा पानीको बहाव बढ्नुका साथै तटबन्ध कटान हुँदा सयौं हेक्टर धानबाली डुबानमा परेको हो।
सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालका अनुसार वडा नं. २, ४, ८ र १० हुँदै बग्ने टेंगरा खोलामा पानीको सतह बढ्दा वडा नं. २ र ४ मा करिब ५० बिघा अर्थात् ३३.८६ हेक्टर क्षेत्रफलमा धानको बीउबाली तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको खेतमा क्षति पुगेको छ।
त्यस्तै, कञ्चनरूप नगरपालिका–९ का वडा अध्यक्ष रामसुन्दर यादवका अनुसार रोघनाथपुर क्षेत्रमा सुनेरी खोलामा आएको बाढीले करिब ३० बिघा अर्थात् २०.३२ हेक्टर क्षेत्रफलमा लगाइएको धानको बीउबाली डुबानमा परेको छ।

