काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले उपभोक्तासंगै व्यवसायीको अधिकारलाई पनि ख्याल राख्नुपर्ने बताएका छन् ।
नेपाल बार एशोसिएशन उपभोक्ता कानून सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरू–उपभोक्ता अदालतको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष मिश्रले यस्तो बताएका हुन् । उनले स्वास्थ्य र सुरक्षामा प्रत्यक्ष असर पर्ने घटनामा कारबाही आवश्यक भएपनि कारबाहीसँगै हुने सार्वजनिक प्रचारप्रसारले व्यवसायीको अधिकारसमेत प्रभावित हुने बताए । उनकाअनुसार कुनै पसलमा वा कम्पनीका अखाद्य बस्तु भेटिएपछि कानूनबमोजिम कारबाही भएपछि पनि सामाजिक सञ्जाल र प्रचारप्रसारमार्फत व्यवसायलाई पूर्ण रूपमा ध्वस्त पार्ने प्रवृत्ति भईरहेको छ । कानूनी सजाय पाईसकेपछि पनि सामाजिक रूपमा आजीवन सजाय दिने अवस्था उचित हुन्छ कि हुँदैन भन्नेकुरामा विचार गर्न आवश्यक रहेको उनले बताए । एउटा गल्तीका आधारमा राष्ट्रिय उद्यमीलाई समाप्त पार्नेभन्दा सुधारको अवसर प्रदान गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए ।
चिकित्सा क्षेत्रको उदाहरण दिँदै उनले चिकित्सकहरूले दीर्घ अध्ययन र व्यावसायिक मापदण्डअनुसार उपचार गरेपनि कहिलेकाहीँ अप्रत्याशित परिणाम आउन सक्ने बताए । त्यस्ता घटनामा कानूनी क्षतिपूर्तिसँगै सामाजिक प्रतिष्ठामाथि हुने क्षतिका बारेमा पनि न्याय प्रणाली संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘नेपाल सरकारवादी हुने मुद्दाहरू उपभोक्ता अदालतमा लाने कुराहरू एकदमै जेन्युइन छ । प्रयास नभएको होइन, ४५ सालतिर हामी स्टुडेन्ट हुँदा चेर्नोबिल दुर्घटनाको कारणले गर्दा असर परेको दुग्ध पदार्थ नेपालमा ल्याइयो, पाउडर दूध । त्यो पाउडर दूधले स्वास्थ्यमा असर पर्यो, त्यसको नेपालमा ल्याउने क्रिया बन्द गरिपाऊँ भन्ने देवेन्द्र चूडालले मुद्दा हाल्नुभएको हो । त्यो मुद्दामा कन्जुमर मास एक्सन लिएको हो । त्यसै गरेर अर्को मुद्दा धु्रवबहादुर कार्कीको ’हिमालयन सिमेन्टको सिमेन्ट किनेर मेरो घर चर्कियो, घर क्षतिपूर्ति पाऊँ’ भन्ने अर्को मुद्दा पनि हामीले पढेका हौँ । प्रयासहरू भए, तर अब अहिले फलानो पसल गुडपाक पसलमा कीरा फेला पर्यो, फलानो स्वीट्समा साङ्ला फेला पर्यो, एक्सन लिनु ठीक हो । एक्सन लिएर प्रचार गर्नु कति ठीक हो ? उद्यमीको अधिकार पनि विचार गर्नुपर्यो । त्यसबाट उसले सजाय कानूनबमोजिम सजाय खाने कि सोसल मिडियाबाट पनि सजाय खाने ? के हामीले हाम्रा राष्ट्रिय उद्यमीहरूलाई एउटा गल्तीको कारणले समाप्तै गर्ने हो ? त्यो पनि विचार गर्नुपर्ने अवस्था छ । अब मैले समोसा खाने ठाउँमा समोसाको मुनि सानो मुसो फेला पर्यो भन्ने रिपोर्ट छर्पस्ट आयो । अब म त्यहाँ समोसा खान अहिलेसम्म जाने आँट मैले यो २०र२५ वर्षसम्म गर्न सकेको छैन । समोसा पसल छ । यो सुधार गर्नको लागि कि प्रचार गर्नको लागि हो भन्नेकुरा पनि एकदमै विचार गर्नुपर्ने अवस्था छ । सुधारको अवसर दिनुपर्छ ।’
उनले नेपालमा उपभोक्ताको न्यायका क्षेत्रमा विगतदेखि नै कानूनी अभ्यास र प्रयास हुँदै आएको उल्लेख गरेका छन् ।

