कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई पाँच थान होन्डा साइकल र पाँच थान लागुऔषध परीक्षण किट सहयोग गरेको छ । महेन्द्रनगर बजार क्षेत्रमा गस्तीलाई प्रभावकारी बनाउन तथा लागुऔषध नियन्त्रणका लागि परीक्षण किट उपलब्ध गराइएको संघले जनाएको छ ।
सोमबार आयोजित एक कार्यक्रमबिच कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले प्रमुख जिल्ला अधिकारी मदन कोइराला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
साइकल ग्रहण गर्दै एसपी नेत्रमणि गिरीले छोटो दूरीमा गस्ती सञ्चालन गर्न साइकल उपयोगी हुने उल्लेख गर्दै आवश्यकताअनुसार साइकलमार्फत गस्ती परिचालन गरी अपराध नियन्त्रणलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरे ।

