काठमाडौं । जेनजी अभियान्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक उजुरी दर्ता गरिएको छ।
जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा सरकार, गृह प्रशासन तथा नेपाल प्रहरीविरुद्ध उजुरी दर्ता गराएको हो।
उजुरीमा गत शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा खटिएका प्रहरी टोलीले अन्सारीमाथि बल प्रयोग गरेको आरोप लगाइएको छ। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयको प्रतिनिधि भएको दाबी गर्ने ओजस्वी थापाले प्रहरीलाई निर्देशन दिँदै परिचालन गरेको आरोपसमेत अलायन्सले लगाएको छ।
अलायन्सका अनुसार उक्त घटनाले नेपालको संविधानको धारा १६, १७, २० र २२ ले सुनिश्चित गरेका मौलिक अधिकारहरूको उल्लंघन गरेको छ। उजुरीमा सम्मानपूर्वक बाँच्न पाउने हक, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र निःशस्त्र रूपमा शान्तिपूर्ण भेला हुने अधिकारमाथि हस्तक्षेप भएको उल्लेख गरिएको छ।
उजुरीसँगै घटनाको भिडियो प्रमाण, कीर्तिपुर अस्पतालको स्वास्थ्य प्रतिवेदन तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मेडिकल रिपोर्ट पनि आयोगमा पेश गरिएको अलायन्सले जनाएको छ।
हाल माजिद अन्सारी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्।

