काठमाडौं । आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा औपचारिक जाहेरी दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। यसका लागि परिवारका सदस्यहरू प्रहरी वृत्त कालीमाटी पुगेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, अप्राकृतिक मृत्यु भएका प्रत्येक घटनामा जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइन्छ। उनका अनुसार पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई जिम्मा लगाइनेछ भने अनुसन्धानबाट कसैमाथि कानुनी कारबाही आवश्यक देखिए सोहीअनुसार प्रक्रिया अगाडि बढाइनेछ।
यसअघि आइतबार मृतकको परिवार र प्रशासनबीच नौ बुँदे सहमति भएको थियो। गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नो मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएको विषयमा विवाद भएपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।
घटनापछि प्रहरीले सोधपुछका लागि महानगर प्रहरीका सम्बन्धित कर्मचारी तथा घटनाका प्रत्यक्षदर्शीलाई नियन्त्रणमा लिएर बयान लिएको थियो। आवश्यक विवरण संकलन गरेपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ।
घटनाको निष्पक्ष अनुसन्धानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

