अछाम । अछाममा सवारी ज्यान मुद्दामा फरार दुईजना प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु जिल्लाको खत्याड गाउँपालिका– ९ का चालक धनबहादुर सार्की र ट्याक्टरधनी खत्याड– १० का कर्णबहादुर बुढा रहेका छन् ।
२०६५ माघ १९ गते अछामको साबिक दर्ना गाविस– २ र हालको बान्नीगढी जयगढ गाउँपालिका– ६ मा धनबहादुरले चलाएको लु।२ त ८४९१ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य १२ जना घाइते भएका थिए ।
सवारीचालक अनुमतिपत्र नभएका सार्की घटनापछि फरार थिए । लामो समय लुकेर बसेका ३७ वर्षीय सार्की प्रहरीको २० वर्षे ‘पेन्डिङ’ मुद्दाको अनुसन्धानका क्रममा अछामको साँफेबगरस्थित छिपेखोलाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
उनका अनुसार सार्की हाल बाजुरा जिल्लामा एम्बुलेन्स चलाउँदै आएका छन् । एम्बुलेन्ससहित धनगढीबाट फर्किने क्रममा प्रहरीले सार्कीलाई छिपेखालाबाट नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक दिनेशप्रसाद रिमालको कमान्डमा खटिएको टोलीले पक्राउ गरेपश्चात् उनलाई जिल्ला अदालत अछामबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी खनालले बताए ।
सोही मुद्दामा फरार ट्याक्टरधनी ५३ वर्षीय बुढालाई भने अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ गरिएको हो । सोमबार पक्राउ परेका बुढालाई पनि म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अछाममा अहिले पनि यही प्रकृतिका २० वर्षे ‘पेन्डिङ’ मुद्दाको संख्या ११ वटा छ । एक वर्षअघि २३ मुद्दा रहेकोमा अन्य योसहित १२ मुद्दा फस्र्योट भइसकेका छन् । जसमा सवारी ज्यान, अन्य ज्यान मुद्दा, बलात्कार र भवितव्यसम्बन्धी उजुरी रहेका थिए । जसमा अहिलेसम्म जम्मा ६ जनालाई प्रहरी पक्राउ गरेर मुद्दा चलाएको छ ।

