मौद्रिक नीतिपछि सेयर बजारमा उल्लेख्य गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट बुधबार सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन २४ अंकले बढेको बजार आज ३० अंकले घट्दै नेप्से परिसूचक २ हजार ६२१ अंकमा झरेको हो। बजार घटे पनि कारोबार रकम भने बढेर ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

दिनभर बजारमा बिक्री चाप हाबी रहँदा २५ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। २४७ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत सूचकतर्फ पनि अधिकांश क्षेत्र राताम्य भए। जलविद्युत् समूह सबैभन्दा बढी १.७० प्रतिशतले घट्दा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधनलगायतका सूचक पनि ओरालो लागे।

कारोबारका क्रममा स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, सानीगढ हाइड्रो र सपोर्ट माइक्रोफाइनान्सको मूल्य उल्लेख्य रूपमा घट्यो। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो र सिटी होटल अग्रस्थानमा रहे।

बजार घट्नुको मुख्य कारण मौद्रिक नीतिमा समावेश गरिएको संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण गर्ने व्यवस्थालाई मानिएको छ। यस व्यवस्थाले विशेषगरी कमजोर वित्तीय अवस्था भएका कम्पनीमा लगानी गर्नेहरूलाई प्रभावित पार्ने आशंका बढेपछि बिक्री चाप देखिएको बजार विश्लेषकहरूको भनाइ छ।

विशेषगरी अधिकांश जलविद्युत् कम्पनीहरूको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम भएकाले यो समूहमा बढी दबाब परेको देखिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार