प्रतिनिधि सभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ।

संसद सचिवालयले सिंहदरबारमा बुधबार बिहान ११ बजेदेखि बैठक शुरु हुने जनाएको हो । बैठकमा वार्षिक प्रतिवेदन पेशदेखि विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई वटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको हो। मन्त्री गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन सदन समक्ष प्रस्तुत गर्ने भएकी छन् ।

व्यवस्थापन कार्य अन्तर्गत बुधबार विभिन्न नयाँ विधेयकहरू सदनमा दर्ता र छलफलका लागि लगिने भएको हो ।

साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको हो।

सम्बन्धित समाचार

ताजा समाचार