काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी

काठमाडौं । नेपाली काँग्रेस र नेकपा (एमाले) बीच भएको पूर्वसहमति अनुसार प्रदेश सरकारहरु हेरफेर हुने देखिएको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) बीच भएको आलोपालो मुख्यमन्त्री बन्ने पूर्वसहमतिअनुसार साउनको पहिलो सातादेखि मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सरकार फेरबदल हुने नेकपा (एमाले) वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले दाबी गरेका छन् । नेता थपलियाकाअनुसार मधेस प्रदेशमा हालै मात्र नयाँ सरकार गठन भएकाले त्यहाँ तत्काल सरकार परिवर्तन हुने सम्भावना छैन । उनले मधेसबाहेक अन्य सबै प्रदेशमा साउनको पहिलो सातादेखि नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने दाबी गरे । उनले कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने ? भन्ने विषयमा पार्टीको शीर्ष तहमा छलफल भएर टुंगिने समेत बताए । उनले बागमती प्रदेशमा हाल पूर्वसहमति अनुसार काँग्रेसले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै अब सरकारको नेतृत्व एमालेले गर्ने दाबी गरेका छन् ।

उनले भने, ‘नेकपा (एमाले) र नेपाली काँग्रेस गठबन्धको सरकार जुन विगत एक वर्षदेखि काम गरिरहेको छ । त्यसअनुसार सबै प्रदेशमा आलोपालो सरकार चलाउने जुन पूर्वसहमति छ त्यसैअनुसार कुन–कुन प्रदेशमा ककसले पाउँछन् ? त्यहीअनुसार फेरबदल हुन्छ । मधेस प्रदेशमा हालै मात्र सरकार गठन भएको कारण त्यहाँ फेरबदल हुने कुनै सम्भावना छैन । सोही पूर्वसहमतिअनुसार साउन पहिलो हप्तादेखि नै मधेश बाहेक सबै प्रदेशहरुले नयाँ सरकार पाउने छन् । यस सम्बन्धमा नेपाली काँग्रेस र नेकपा (एमाले) को नेतृत्वमा छलफल हुन्छ । कुन प्रदेश कसले लिने ? कहाँ न्यायोचित हुन्छ ? भन्ने कुरा पार्टीले निर्णय गर्छ । हाम्रो संसदीय प्रणालीअनुसार प्रदेश संसदीय दलको नेताले मुख्यमन्त्री पाउँछ । बागमति प्रदेशमा यसअघि एमालेको समर्थनमा तीन वटा मुख्यमन्त्री बनिसक्नुभएको छ । त्यसकारण स्वभाविक छ यसपटक सरकार नेकपा (एमाले) ले नै बनाउँछ ।’

उहाँले वागमती प्रदेशको मुख्यमन्त्रीमा स्वभाविक रुपमा आफ्नो दाबी रहेको पनि बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार