काँग्रेसले भन्यो–संवैधानिक कानूनको ज्ञात नभएको व्यक्तिबाट संविधान संशोधन हुन सक्दैन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले संवैधानिक कानूनको ज्ञात नभएको व्यक्तिलाई संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक बनाएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले संविधान संशोधनको विषयलाई सरकारले सामान्य रुपमा लिएको भन्दै आपत्ति जनाएका हुन् । उनले संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहस पत्र तयार पार्नु अपरिपक्व काम काम भएको बताए । उनले संविधानले चिनेको बहालवाला प्रधानन्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन गर्न जरुरी रहेको बताए । लोकतन्त्रको महत्वपूर्ण आधार भनेकै संवाद भएको तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको बताए ।

उनले भने, ‘लोकतन्त्रको अर्को महत्वपूर्ण आधार संवाद हो । लोकतन्त्र संवादबाट चल्छ । सहमतिबाट अघि बढ्छ । र असहमतिलाई पनि सम्मान गर्छ । तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा संवाद भन्दा दूरी, सहकार्य भन्दा टकराव र परामर्श भन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो । राष्ट्रिय महत्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने थियो । तर सरकार एक्लै अघि बढ्न खोज्यो । स्मरण रहोस् खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो । सुल्टो बाटो आएका प्रधानमन्त्रीज्यूले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ । फेरि छिटो हिँडेर मात्रै पनि पुगिँदैन । हिँड्ने बाटो सही हुनुपर्छ र प्रधानमन्त्रीज्यु लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान मलाई भइराखेको छ सभामुख महोदय । यो राम्रो सङ्केत पटक्कै होइन । अहिले जसरी संविधान संशोधनलाई हल्का रूपमा लिएर सरकारले संवैधानिक कानूनका ज्ञात नभएको, संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहस पत्र जसरी तयार गरिँदैछ, यो एकदमै अपरिपक्व काम भइरहेको छ भन्ने पनि हाम्रो ठहर हो । यो संविधानमा आफ्नो आसपासमा रहनुभएको संविधानमा कुनै कन्ट्रीब्युसन नरहेको या हाम्रो संविधानले चिनेको बहालवाला प्रधानन्यायाधीश या रिटायर्ड को हुनुहुन्छ ? उहाँमार्फत यो प्रक्रियाको थालनी खोज्नुपर्नेमा आज जसरी जाने कोशिस गरिराख्नुभएको छ, त्यसका प्रति हाम्रो गम्भीर ध्यान गएको छ ।’

सरकार उल्टो जुत्ता लगाएर हिँडिरहेको भन्दै उहाँले सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा नपुगिने टिप्पणी गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार