सशस्त्र प्रहरी स्कुलको आर्थिक अनियमितता प्रकरणमा इन्स्पेक्टरसहित दुई पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विद्यालयकी लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र लिला लामा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई शनिबार नियन्त्रणमा लिइएको हो। आइतबार अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइने उनले जानकारी दिए।

सशस्त्र प्रहरी प्रधान कार्यालयले विद्यालयमा आर्थिक हिनामिना भएको निष्कर्षसहित कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि अनुसन्धान प्रक्रिया सुरु भएको हो।

प्रहरीका अनुसार विद्यालयको खातामा रहनुपर्ने रकम व्यक्तिगत खातामा सारेर करोडौं रुपैयाँ हिनामिना गरिएको आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानमा लेखा प्रमुख गुरुङलाई उक्त प्रकरणको मुख्य योजनाकारका रूपमा हेरिएको छ।

स्रोतका अनुसार गुरुङ विगत करिब ६ वर्षदेखि उक्त विद्यालयमा लेखापालको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। सशस्त्र प्रहरीको आन्तरिक छानबिनमा उनीहरूविरुद्ध पर्याप्त आधार देखिएपछि थप अनुसन्धान र मुद्दा प्रक्रियाका लागि प्रहरीलाई जिम्मा लगाइएको हो।

यसै प्रकरणमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनको दायरामा परेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार