काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सरकारसँग माग गरेकी छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त माग गरेकी हुन् । सांसद अर्यालले सरकारले उक्त बजार स्थापना नगरेको कारण नै नेपालको चियाको प्रवद्र्धन अन्तराष्ट्रिय बजार हुन नसकेको तथ्य पनि औँल्याइन् । उनले चियाँ निर्यात सम्बन्धि उचित कानूनको तर्जुमा गर्न पनि सरकारलाई सचेत गराइन् ।
सांसद अर्यालले भनिन्,‘नेपालको चिया उद्योगको उचित सञ्चालनका लागि चिया लिलाम बजार स्थापना गर्ने कार्य हालसम्म बाँकि नै छ । यसको विकल्पमा नेपाल चियाले भारतको सिलिगुढी र कलकत्ताका लिलाम बजारमा निर्भर हुनु परेको छ । यसको आफनै लिलाम बजार छैन । प्रष्ट छ कि राष्ट्रिय चिया लिलाम बजारविना नेपालको चिया प्रवद्र्धन हुन सक्दैन । त्यसै कारणले हालसम्म विश्व चिया बजार नक्शामा नेपाल उल्लेख भएको छैन । यसप्रकार नेपालले चिया लिलाम बजारमा आफनो उत्पादनलाई ब्राण्डसहित राख्नुपर्ने हुन्छ । जुन कार्य गर्न अझै बाँकि छ ।’
सांसद अर्यालले विश्व चिया बजारमा नेपालको उपस्थिति गराउन पनि सरकारले यस सम्बन्धि उचित नीतिहरु निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छन् ।

