शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
उनले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको बताए । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उनको भनाइ छ । यद्यपि शिक्षा आफैँमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नसक्ने भुमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘शिक्षामा राजनीति भयो भनिन्छ । शिक्षामा राजनीति भएन भन्छु म । शिक्षामा दलीयकरण भयो । हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो । हामीले गाउँतिर गएर फलानो विद्यालयको अवस्था कस्तो छ ? भनेर सोध्यो भने त्यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक हाम्रै मान्छे हो भन्ने गरेको सुन्छु । शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हाम्रै मान्छे हो भन्ने तरिकाबाट हामी बाहिर निस्कनुप¥यो । त्यो राजनीति होइन, त्यो दलीयकरण हो । शिक्षामा दलीयकरणले सबैभन्दा ठुलो समस्या लिएर आयो । दलीयकरणबाट शिक्षालाई बाहिर निकाल्नुप¥यो । तर शिक्षा राजनीतिक ईस्यू हो । हामीले समुन्नत नेपालको सपना देखेका छौँ, शिक्षा क्षेत्रले मुलुकलाई समुन्नत बनाउनको लागि कहाँनिर योगदान दिनसक्छ ? त्यो लक्ष्य र उद्देश्यको छलफल यहाँ गर्नुपर्छ ।’
उनले मुलुकको समृद्धि र विकासका शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको बताए । उनले सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो परिक्षाफल प्रकाशित हुनु ठूलो उपलब्धि ठान्ने सोचले हजारौँ विद्यार्थी समस्यामा परेको समेत बताए । उनले कक्षा १० र १२ को परीक्षाफलको सन्दर्भमा देखिएका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने समेत बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार