त्रिभुवन विमानस्थलबाट बरामद गरिएको सुन-चाँदीको अनुसन्धान जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरले अवैध रूपमा लुकाइछिपाई ल्याउन खोजिएको करिब ८१ लाख ७२ हजार ३९३ रुपैयाँ बराबरको गरगहना बरामद गरेको जनाएको छ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार १६ गते जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाभित्र लुकाइ ल्याइएको भन्ने सूचनाका आधारमा असार १८ गते काठमाडौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटीमा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा सुनजस्तो देखिने धातुका गरगहनामध्ये २८५.१७८ ग्राम सुन रहेको पुष्टि भएको छ। उक्त सुनको अनुमानित मूल्य ६७ लाख ३४ हजार ३ सय ५० रहेको जनाइएको छ।

त्यसैगरी, चाँदीजस्तो देखिने धातुका गरगहनामध्ये ३ केजी ९१४.६५० ग्राम चाँदी रहेको खुलेको छ। यसको अनुमानित मूल्य १४ लाख ३८ हजार ०४३ रहेको विज्ञप्तिमा उल्लेख छ।

बरामद गरिएको सुन र चाँदीको कुल अनुमानित मूल्य ८१ लाख ७२ हजार ३ सय ९३ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अवैध रूपमा खरिद गरिएको सुन र चाँदीलाई Declare गरेर ल्याइएको सामानको आडमा लुकाइछिपाई कुरियरमार्फत तस्करी गर्ने प्रयास भएको आशंकामा घटनाबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरबाट थप अनुसन्धान भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार