काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरुको सवारी साधनका लागि साईकलको व्यवस्था गर्नुपर्ने प्रश्ताव गरेका छन् ।
सरकारले अर्बौंको गाडीहरु खरिद गर्न लागेको समाचार बाहिर आएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरु र सांसदहरु पनि जेन–जी पुस्ताका भएकाले उनीहरुका लागि साईकलको व्यवस्था गर्न उपयुक्त हुने जिकिर समेत गरे । बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद विश्वकर्माले अर्बौंको गाडी जलाएर खरानी बनाउनेहरुले फेरि अर्बौंको गाडी खरिद गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । उनले नागरिक सिटामोल खान नपाएर मर्नुपर्ने अवस्था रहेको बेला सरकारले पनि सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सांसद विश्वकर्माले भने,‘सुशासनको बैशाखीमा अडिएको हाम्रो सरकारले अर्बौंको गाडीहरु किन्दैछ भन्नेकुराहरु आईराखेको छ । अर्बौैंको गाडीहरु जलाएर खरानी बनाएको छ । र फेरि अर्बौंको गाडी किन्दैछ भन्ने खवरले सनसनी पैदा गराएको छ । आज सुकुम्बासीहरु खाना नपाएर तडपी रहेका छन । सिटामोल नपाएर मर्नु परिराखेको छ । ओत लाग्न नपाएर विरामी परिरहेका छन । यो अवस्थालाई नहेरेर आफ्नो सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्दैछ । यो बिडम्बना हो । हाम्रो नयाँ सरकारले नयाँ काम भनेको अव मन्त्री, सांसदहरु जेन–जी हुनुहुन्छ । साईकल किन्नु प¥यो अव । साईकल किनेर सरर हिन्ने । साईकलमा जाने, साईकलमा नै आउने । बरु चन्दाबाट पुनर्निर्माण भए सिंहदरवार पनि यहीबाट निर्माण होस । म यहीँ भन्न चाहन्छु हाम्रो सरकारलाई ।
सांसद विश्वकर्माले सरकारले सुशासनको कुरा गरेपनि सोही अनुसारको व्यवहार देखाउन नसकेको जिकिर पनि गरेका छन् ।

