सरकारले विपन्न नागरिकलाई पीडा मात्रै दिने काम गरेको सांसदहरुको आरोप

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले गरिव नागरिकलाई पीडा दिने काम मात्रै गरेको आरोप लगाएका छन् । बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनताको जल्दाबल्दा समस्याको सम्बोधन नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेका छन् ।

सांसद दुर्गा गुरुङले कीर्तिपुरको होल्डिङ सेन्टरमा पीडादायी जीवन बिताईरहेका डम्बर तामाङलाई पक्राउ गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन् । उनले सरकारले संविधान र कानून विपरित नागरिकले आफनो जीवनयापनका लागि याचना गर्दा पनि पक्राउ गरेको भन्दै तत्काल रिहाई गर्न पनि माग गरिन् ।

सांसद गुरुङले भनिन्,‘भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा विस्थापित भई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिईरहेका २८ वर्षीय डम्बर तामाङ घटनाले गम्भिर मानवीय र कानूनी प्रश्न उठाएको छ । उहाँ आफनो पीडा व्यक्त गर्ने क्रममा पक्राउ परेको भन्दै कुरा छ । यदि कुनै नागरिकले आफनो पीडा राखेको कारण उहाँ पक्राउ पर्नुभएको हो भने यो लोकतान्त्रिक शासन र संविधानको मर्म विपरित हुन सक्दैन । नेपाल सरकारसँग आग्रह गर्दछु कि उक्त घटनामा परेका तामाङलाई तत्काल रिहा गरियोस ।’

सांसद जयन्तिदेवी राईले संखुवासभाको सिदुवा खोलामा आएको बाढीले सयों घरबारविहीन हुँदा पनि सरकारले वास्ता नगरेको भन्दै आपत्ति जनाइन् । उनले उक्त ठाउँमा पीडामा परेका नागरिकलाई तत्काल राहत दिई उपयुक्त बसोबासको व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद राईले भनिन्,‘लगातार ३ दिन परेको वर्षाका कारण संखुवासभा जिल्लाको सिदुवा खोलामा आएको भिषण बाढीले त्यहाँ २८ घरपरिवार विस्थापित बनाएको छ भने त्यहाँ विद्युत सेवा बन्द भएको कारणले ६ सय घर परिवार अन्धकारमा बस्नु परेकोछ । उनीहरुलाई सरकारले तत्काल राहत र सुरक्षित बसोवासको व्यवस्था गरोस् ।’

जनताको जल्दाबल्दा विषयमा संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ समेत नदिएको पनि सरकारप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

सांसद नरबहादुर विष्टले सुशासन र पारदर्शीताको कुरा गर्ने सरकारले सांसदहरुले संसदमा उठाएको प्रश्न नदिनुको कारण के हो ? भनि प्रश्न समेत गरे ।

सांसद विष्टले भने,‘माननीयहरुले शुन्य समय र विशेष समयमा उठाएका विषयबस्तुहरुको सरकारले अहिलेसम्म जवाफ दिएको छैन । सुशासन र पारदर्शीताको नाममा बनेको सरकारले जनताका जनप्रतिनिधिले सदनमा उठाएका विषयमा कुनै पनि जिम्मेवारी नलिएर अहिलेसम्म हामीले त्यसको जवाफ पाएका छैनौँ । अहिलेसम्म उठाएको जवाफ सरकारले कहिले दिने हो ? जनताका जल्दाबल्दा समस्याको जवाफ नदिने सरकारले कस्तो सुशासन र पारदर्शीताको कुरा गरेको हो रु त्यसमा पनि जवाफ चाहन्छु ।’

सांसद विष्टले सरकार नागरिकप्रति जिम्मेवार नभएको गुनासो पनि गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार