काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले मंगलबार जारी गरेको सूचनामा असार १६ र १७ गते बेलुका ५ः ०० बजेदेखि भोलिपल्ट बिहान ५ः ०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन आग्रह गरिएको छ ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरिएको ‘आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध’ सम्बन्धी सूचनाअनुसार १६ र १७ असार २०८३ मा देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेको प्रशासनको सूचनामा भनिएको छ ।
ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्नेलगायतका जोखिमयुक्त गतिविधि नगर्न तथा नगराउन आग्रह गर्दै प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा विशेष सतर्कता अपनाउन भनेको छ ।

