बर्डफ्लु सङ्क्रमणः ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट

काठमाडौं । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ।

केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ।

बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा बज्रकिशोर ठाकुरले जानकारी दिए।

उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। कार्यालयले सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाएको उनले बताए।

विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार