काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री डा. वाग्लेले उनलाई शपथ गराएका हुन् ।
यही असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
शपथपछि अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए । लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डा. वाग्लेको भनाइ छ ।
“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्”, अर्थमन्त्री डा. वाग्लेले भने, “म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।”
नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजना अनुसार पुँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताएका छन् ।

