काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको टिप्पणी गरेकी छन् । उनले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गरिन् ।
कक्षा १२ को परीक्षा फलमा गम्भीर त्रुटी देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्। सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको बताइन् ।
सरकारले करिब ३० दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि सो निर्णय प्रत्युत्पादक बनेको उनको तर्क छ । उनले माईतीघर मण्डलामा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यवद्धता समेत व्यक्त गरिन् । सदनमार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइन् ।
सांसद गुरुङले नतिजा प्रकाशनमा भएको लापरवाहीबारे उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरेकी छन्। उनले हाल बनेको छानबिन समिति केवल औपचारिकतामा मात्र सिमित हुन नहुनेमा जोड दिएकी छन् ।

