काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई खोप सहयोग

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा देखिएको रेबिज विरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक औपचारिक कार्यक्रमका बीच उक्त खोप अस्पताल प्रशासनलाई हस्तान्तरण गरेकी हुन् । अस्पतालमा रेबिज विरुद्धको खोपको मौज्दात न्यून हुँदै गएको र यसले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने समाचार सार्वजनिक भएपछि महानगरपालिकाले उक्त तदारुकता देखाएको हो ।

रेबिजको उपचारका लागि टेकु अस्पताल भरपर्दो र सुलभ गन्तव्य रहेकाले काठमाडौँ महानगरसहित छिमेकी पालिका र देशभरबाट आउने बिरामी प्रत्यक्ष प्रभावित हुने जोखिमलाई मध्यनजर गर्दै महानगरले खोप सहयोग गरेको हो । खोप हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले रेबिज प्राणघातक रोग भएको र जनावरको टोकाइपछि समयमै खोप नपाउँदा व्यक्तिको मृत्यु हुनु स्वास्थ्य प्रणालीकै लागि चुनौती भएको बताएकी छन् ।

महानगरपालिकाले स्वास्थ्य विभाग र अस्पताल प्रशासनको द्रुत समन्वयका कारण छोटो समयमै खोप व्यवस्थापन गर्न सम्भव भएको जनाएको छ । यस सहकार्यले नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र सम्भावित मानवीय क्षति रोक्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार